काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। बिहीबार सार्वजनिक २०० पृष्ठ लामो कांग्रेसको प्रतिज्ञापत्र सुशासन र भ्रष्टाचार नियन्त्रणमा केन्द्रित छ।
२०४८ सालयता सार्वजनिक पद धारण गरेका सबै उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने कांग्रेसको प्रतिज्ञापत्रमा उल्लेख छ।
आर्थिक र विकासको पक्षलाई प्रतिज्ञापत्रले विशेष प्राथमिकतामा राखेको छ। आगामी पाँच वर्षलाई आर्थिक पुनरुत्थानको दशकु घोषणा गर्दै कांग्रेसले वार्षिक ७ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने र अर्थतन्त्रको आकार दोब्बर बनाउने लक्ष्य लिएको छ।
स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्न जहाँ रोजगारी, त्यहाँ कांग्रेस को नीति लिँदै पाँच वर्षमा कम्तीमा १५ लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकांक्षी योजना अघि सारिएको छ। साथै, १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने र विद्युत् उत्पादन क्षमता १५ हजार मेगावाट पुर्याउने लक्ष्य पनि कांग्रेसले लिएको छ ।
सामाजिक सुरक्षाका क्षेत्रमा कांग्रेसले कोखदेखि शोकसम्मु को एकीकृत अवधारणा ल्याएको छ। ३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क उपचार, क्यान्सर र मिर्गौला जस्ता गम्भीर रोगका बिरामीलाई उपचार खर्च र विपन्नलाई निःशुल्क स्वास्थ्य बिमाको ग्यारेन्टी गरिएको छ।