काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती सेना अन्तर्गतको गोर्खा कमान्डेन्ट ब्रिगेडका मेजर जनरल जेरल्ड एम स्ट्रिकलेण्ड र डेभिड जे रोविन्सन लगायतको प्रतिनिधिमण्डलले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका छन् । सोमबार सो प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसँग भेटघाट गरेको हो ।
नेपालका लागि बेलायतका राजदूत समेतको उपस्थिति रहेको सो कार्यक्रममा मेजर जनरल स्ट्रिकल्यान्डले ‘ब्रिगेड अफ गुर्खाज’ को सन् २०२५ को वार्षिक प्रतिवेदन समेत पेस गरेका थिए । सो अवसरमा दुई देशबिच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा समेत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र संयुक्त अधिराज्यले विकास, मानव कल्याण र शान्तिसँग सम्बन्ध राख्ने विषयहरूमा सहकार्य गर्दै आएको र दुवै राष्ट्रहरूले राष्ट्रसङ्घीय शान्ति सेनामार्फत विश्वशान्ति स्थापनाबारे समान धारणा राखिरहेको उल्लेख गरेका छन् ।
उनले नेपाल र संयुक्त अधिराज्यबिच सदियौँदेखि घनिष्ठ सम्बन्ध रही आएको उल्लेख गर्दै एक महत्त्वपूर्ण विकास साझेदारसमेत रहेको संयुक्त अधिराज्यले नेपालको विकासमा निरन्तर पुर्याउँदै आएकोप्रति म धन्यवाद व्यक्त गरे ।
उनले ब्रिटिस गोर्खाले आफ्नो प्रशंसनीय कार्यहरूको माध्यमबाट नेपाल र बेलायतबिच द्विपक्षीय सम्बन्ध थप मजबुत बनाएकोमा खुसी व्यक्त गर्दै संयुक्त अधिराज्यमा नेपालीको उपस्थितिले दुई देशबिच रही आएको जनस्तरको सम्बन्ध थप सुदृढीकरण आफूहरूको ठम्याइ रहेको उल्लेख गरेका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
उनले पूर्व ब्रिटिस गोर्खाका केही जायज गुनासाहरू सम्बोधन गर्न कूटनीतिक तहमा छलफल भइरहेको र यो विषय द्विपक्षीय संयन्त्रको माध्यमबाट छिट्टै टुङ्गोमा पुर्याउन उचित हुने आफूलाई लागेको बताएका छन् ।
राष्ट्रपतिले गोर्खा बिग्रेडको सन् २०२५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकोमा संयुक्त अधिराज्य सरकारलाई धन्यवाद व्यक्त गर्दै प्रतिवेदन उपर सम्बन्धित निकायहरूले आवश्यक अध्ययन गर्ने बताए ।
सो अवसरमा बेलायती सेनाका मेजर जेनरल जेरल्ड एम स्ट्रिकलेण्डले ब्रिटिस गोर्खा सेना सधैँ अग्रपङ्क्तिमा रहेको बताउँदै प्रशंसा गरे । ब्रिटिस गोर्खामा भर्ना भएका युवाहरूलाई तपाईँहरू नेपालका छोरा, छोरी हो भनेर आफूले सम्झाउने गरेको बताउँदै बेलायती जनताले गोर्खा नेपालीहरूप्रति माया र सम्मान प्रकट गर्ने गरेको उल्लेख गरेका थिए ।
